अर्किड स्कुलमा दसैँको शुभकामना आदानप्रदान, विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड

Jugesh Das 11+ समाचार ( )
२८ अशोज २०८३

विराटनगर । विराटनगरस्थित अर्किड स्कुलले नेपालीहरूको महान् चाड बडादसैँ (विजयादशमी) को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल मनिष भट्टराईले नेपाली मौलिक चाडपर्वले समाजमा आपसी भाइचारा, मेलमिलाप र सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता सांस्कृतिक पर्वले समाजलाई एकताको सूत्रमा बाँध्दै सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक तथा कर्मचारीहरूले एकअर्कालाई बडादसैँ, तिहार र छठ पर्वको शुभकामना साटासाट गरेका थिए।

यसैबीच, अर्किड स्कुलले विद्यार्थीको शैक्षिक विकाससँगै प्रतिभा प्रस्फुटन, नेतृत्व क्षमता, सिर्जनशीलता र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने जनाएको छ।

विद्यालयले अतिरिक्त क्रियाकलाप (ECA) अन्तर्गत पत्रकारिता, डिजिटल मिडिया तथा प्रसारण, संगीत तथा नृत्य, वक्तृत्वकला, निबन्ध, क्विज, खेलकुद र व्यक्तित्व विकासलगायतका क्षेत्रमा विद्यार्थीलाई सहभागी गराउने योजना बनाएको छ।

विद्यालयका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको रुचि, क्षमता र प्रतिभा पहिचान गर्दै जीवनोपयोगी सीप तथा नेतृत्व क्षमताको विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर विभिन्न सिर्जनात्मक तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार