विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले आफ्ना शिक्षक तथा कर्मचारीका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम सञ्चालन गरेको छ ।>
समयानुकूल प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई थप प्रभावकारी ढंगबाट अध्यापन गराउने उद्देश्यले विद्यालयले तालिम आयोजना गरेको हो। तालिममा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्यापन गराउने शिक्षक–शिक्षीका तथा कर्मचारीहरूको सहभागिता थियो।>
कम्प्युटर शिक्षाका विभिन्न कोर्स सञ्चालन गर्दै आएको एभरेष्टले कक्षा ३ देखिनै बेलायतको डिजी स्कुलको एनसीसी कोर्ससमेत सञ्चालन गर्दै आएको छ। प्रविधिमा भइरहेको तीव्र विकाससँगै शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन एआईका विभिन्न टुल्सको प्रयोगसम्बन्धी सीप प्रदान गरिएको हो।>
तालिममा सहभागी शिक्षिका सुस्मिता कोइरालाले एआईका केही टुल्स आफूहरूले यसअघि पनि प्रयोग गर्दै आए पनि तालिमका क्रममा नयाँ टुल्स र तिनको प्रयोगबारे जानकारी प्राप्त भएको बताइन्। एआईको प्रयोगबाट पाठ्यक्रममा समेटिएका विषयलाई विभिन्न परियोजना तथा सामग्रीका रूपमा तयार गरी विद्यार्थीलाई बुझाउन सहज हुने उनको भनाइ छ।>
त्यस्तै, शिक्षिका एलिसा अधिकारीले एआई तालिमले दैनिक अध्यापनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताइन् । उनले तालिमका क्रममा आफूले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको बताइन् ।>
विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीले शिक्षकलाई लेसन प्लान तयार गर्नेदेखि त्यसको प्रभावकारी कार्यान्वयनसम्म एआईको प्रयोग उपयोगी हुने विश्वास ब्यक्त गरे । युगसापेक्ष प्रविधिको अधिकतम प्रयोग गर्दै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनको भनाइ छ।>
तालिमलाई माई सेकेण्ड टिचरका कप्युटर विज्ञान विज्ञ प्रतिक प्रधान नेतृत्वको १३ जनाको समूहले सहजिकरण गर्नुभएको हो भने १५० जना शिक्षक कर्मचारीले प्रशिक्षण लिए । >
हरेक कक्षाकोठामा इन्टरनेट र प्रोजेक्टरको व्यवस्था गरी ल्यापटपमार्फत अध्यापन गराउँदै आएको एभरेष्टले आगामी शैक्षिक सत्रदेखि हरेक कक्षा कोठामा स्मार्ट बोर्ड जडान गरि अध्यापन गराउने तयारी गरेको छ । ‘आगामी शैक्षिक सत्रदेखि प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिनेछ,’ प्रिन्सिपल टिकाराम पुरीले भने, ‘प्रविधिको विकाससँगै शिक्षण सिकाइलाई पनि प्रविधिमैत्री बनाउँदै लगिनेछ ।’>
सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै आएको एभरेष्टले यसै शैक्षिक सत्रदेखि काठमाडौं विश्वविद्यालयसँगको सम्बन्धनमा ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी ९बीआईटी० को अध्यापनसमेत सुरु गरेको छ।>>