संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा देवानगञ्ज गाउँपालिकाले सहिद परिवार तथा कप्तानगञ्ज घटनाका घाइतेहरूलाई सम्मान गरेको छ। तर सम्मान कार्यक्रमसँगै पीडित परिवारले उठाएका प्रश्नकाे जवाफ पनि सरकारले दिनुपर्ने अवाज उठेको छ । पीडित परिवारले घटनाको सत्यतथ्य, सुरक्षा निकायको भूमिका र न्याय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। न्याय , सुरक्षा र दाेषीमाथी कार्वाही गर्नुपर्ने संविधान दिवसको अवसरमा प्रश्न गर्दै जवाफ दिनुपर्ने अवाज उठाएको हो ।>
जिल्लाकाे देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच उत्पन्न विवादका क्रममा मृत्यु तथा घाइते भएका व्यक्तिका परिवारलाई गाउँपालिकाको कार्यालय भवनमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । साेही कार्यक्रममा पीडित परिवारले न्यायकाे प्रश्न उठाएको छ ।>
कार्यक्रममा सहिद परिवारका सदस्यहरूले आर्थिक सहयोगभन्दा पनि घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरेका स्थानीय पीडित कृष्ण देव मेहताले गर्नुभयो। सहिद जयप्रकाश मेहताकी आमाले छोराको मृत्यु भएको लामो समय बितिसक्दा पनि आफूहरूले न्याय नपाएको गुनासो गर्नुभयाे । उहाँको अनुसार जयप्रकाश परिवारका तीन दाजुभाइ–दिदीबहिनीमध्ये जेठा छोरा थिए। उनी सिटी रिक्सा चलाएर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएका थिए। उनका बुवा नरेश मेहता सामान्य किसान हुन्। खेतीपातीबाट परिवार चलाउँदै आएका परिवारमा एक छोरीको विवाह भइसकेको छ भने कान्छी छोरीको विवाह हुन बाँकी रहेको बताइएको छ।>
“मेरो एकजना मात्र छोरा थियो, त्यो पनि अब रहेन। घरको छोरा नै नरहेपछि हामी कसरी बाँच्ने ? पैसाले सन्तानको पूर्ति हुँदैन। अहिलेसम्म हामीले न्याय पाएका छैनौँ,” सहिद जयप्रकाशकी आमाले भावुक हुँदै भनिन्।>
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुमारी विभा देवी यादवले कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।>
उनले सहिद परिवारको पीडा आर्थिक क्षतिपूर्तिले मात्र पूरा गर्न नसकिने बताइन्।>
“एउटा आमाले आफ्ना सन्तान गुमाउनुको पीडा अर्को आमाले नै बुझ्न सक्छिन्। आज सहिदका आमाहरूमाथि के बितिरहेको होला ? त्यसको क्षतिपूर्ति कसैले दिन सक्दैन,” उपाध्यक्ष यादवले भनिन्। देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको जिम्मेवारी र सुरक्षा व्यवस्थापनबारे गम्भीर प्रश्न उठाए।>
अध्यक्ष मेहताले तत्कालीन प्रमुख जिल्ला अधिकारीको भूमिकालाई गैरजिम्मेवार भएको आरोप लगाए। साथै, तत्कालीन इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्ज राकेश राईको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले सुरुमा हवाई फायर गरिएपछि भिड थप उत्तेजित भएको र त्यसपछि गोली चल्दा देवानगञ्जका युवाहरूले ज्यान गुमाउनुपरेको दाबी गरे।>
अध्यक्ष मेहताले स्थानीय सरकारले आफ्नो तहबाट गर्नुपर्ने काम गरिसकेको दाबी गरे। उनले घटनाको वस्तुस्थितिबारे सम्बन्धित निकायमा गाउँपालिकाले पत्राचार गरिसकेको जानकारी दिए।उनले गम्भीर घाइतेहरूलाई अवस्था हेरी ५० हजारदेखि २ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने घोषणा गरे। उक्त रकम उपचारका लागि पर्याप्त नभए गाउँपालिकाले थप सहयोग गर्न तयार रहेको उनको भनाइ छ।>
तर पीडित परिवारका लागि अहिले मुख्य प्रश्न आर्थिक सहयोग मात्र होइन। घटना किन भयो, गोली किन चल्यो, कसको आदेशमा चल्यो र दोषी को हो ? भन्ने प्रश्नको जवाफ खोजि किन भएन किन कारवाही भएन ।>
संविधान दिवसको अवसरमा सहिद परिवारलाई सम्मान गरिएको छ। स्थानीय सरकारका लागि यो सम्मान सहिद परिवारप्रतिको सम्मानको प्रतीक हुन सक्छ। तर परिवारले उठाएको न्यायको प्रश्न भने सम्मानपत्र र आर्थिक सहयोगले मात्र समाधान हुने देखिँदैन।घटनामा मृत्यु भएका परिवारले न्यायको माग गरिरहेका छन् भने घाइतेहरू उपचार र भविष्यको चिन्तामा छन्। त्यसैले घटनाको निष्पक्ष छानबिन, सुरक्षा निकायको भूमिकाको परीक्षण, घटनाक्रमको आधिकारिक विवरण सार्वजनिक गर्ने तथा दोषी देखिए कानुनअनुसार कारबाही गर्ने विषय अब स्थानीय तहदेखि सम्बन्धित प्रशासनिक तथा सुरक्षा निकायसम्मको जिम्मेवारी बनेको छ।>>