प्रधानमन्त्री बालेनसँग भारतीय विदेश सचिव मिश्रीको आज शिष्टाचार भेट, भारत भ्रमणको मिति टुंगिने संकेत

लाइभ न्यूज रफतार 3802+ समाचार ( )
२० कार्तिक २०८३

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीका क्रममा काठमाडौं आएका मिश्रीले आजको भेटवार्तापछि अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेर मिश्री हिजो बिहान काठमाडौं आइपुगेका थिए। काठमाडौं आएलगत्तै उनी उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा सक्रिय भएका थिए।

भ्रमणका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल तथा परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

आज प्रधानमन्त्री शाहसँग हुने भेटलाई नेपाल–भारत सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणको दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। विशेषगरी प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति, भ्रमणका एजेन्डा तथा दुई देशबीचको आगामी कूटनीतिक सहकार्यबारे छलफल हुनसक्ने अपेक्षा गरिएको छ।

यसअघि प्रधानमन्त्री शाहसँग भेटघाटको समय नमिलेपछि भारतीय विदेश सचिव मिश्रीको प्रस्तावित नेपाल भ्रमण स्थगित भएको समाचार सार्वजनिक भएको थियो। त्यसैले यसपटक उनको काठमाडौं भ्रमण र प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

नेपाल र भारतका अधिकारीहरूबीच प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर दोस्रो साताभित्र गराउने गरी तयारी भइरहेको स्रोतले जनाएको छ। यसै तयारीका क्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका थिए।

यसअघि कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार भेटघाटका क्रममा नेपाली प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ। भारतीय विदेश सचिव मिश्रीको यसपटकको भ्रमणपछि भ्रमणको मिति सार्वजनिक हुनसक्ने कूटनीतिक स्रोतको भनाइ छ।

प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणलाई नयाँ सरकारको विदेश नीति, नेपाल–भारत सम्बन्धको आगामी दिशा र द्विपक्षीय सहकार्यका दृष्टिले महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार