सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ। आइतबार बिहान कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकैबाट गोताखोर साउदको शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। >
कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। साउद बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो। उनको खोजीमा आइतबार बिहान देखि ३ जना डिएसपीको कमाण्डमा ११ जना गोताखोरसहित ६५ जना परिचालन भएको थियो। साउदसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो। डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो।>
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।>>