अमेरिकामा यतिखेर टिकटक प्रतिबन्धित हुन्छ कि हुँदैन भन्ने चासो बढेको छ । पछिल्लोसमय विश्वभरको राजनीतिमा कतै न कतै टिकटकको नाम आउँछ । छोटा भिडियो सेयर गर्ने यो प्लेटफर्मले हाल अमेरिकी राजनीति तात्तिएको छ । अमेरिकी सरकारले टिकटक गैरचिनियाँ कम्पनीलाई बिक्री नगरेमा अमेरिकामा टिकटक प्रतिबन्धित हुने कानुन बनाएको छ । अमेरिकी सरकारको यो कानुनविरुद्ध टिकटक अमेरिकाको सर्वोच्च अदालतमा गुहार्न पुगेको छ ।>
सर्वोच्च अदालतले यस विषयमा १० जनवरीमा सुनुवाइ गर्ने मिति तोकेको छ । तर, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतलाई निवेदन लेख्दै टिकटकमाथि लगाउने भनिएको प्रतिबन्ध तत्कालका लागि रोक्का गर्न आग्रह गरेका छन् । ट्रम्पले टिकटकमाथि लाग्ने सम्भावित प्रतिबन्ध रोक्का गरेमा आफूले टिकटकसँग वार्ता गर्ने बताएका छन् । तर, डोनाल्ड ट्रम्पले नै टिकटकमाथि प्रतिबन्ध लगाउनुपर्छ भनेको धेरै भएको छैन । चार वर्ष अगाडि डोनाल्ड ट्रम्प टिकटकलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा’माथिको गंभिर खतरा मान्थे । तर, अहिले उनी टिकटकलाई ‘अभिव्यक्ति स्वतन्त्रताको युनिक माध्यम’ भनिरहेकाछन् । टिकटकमाथि अमेरिकाले आफ्नो प्रयोगकर्ताको डेटा संकलन गरेर चीन सरकारलाई दिने गरेको आरोप लगाउँदै आएको छ । यहीकारण टिकटक अमेरिकी सुरक्षाका लागि खतरा भएको बुझाइ छ । अब अमेरिकामा टिकटक चल्ने कि प्रतिबन्धित हुने अदालतको हातमा छ । >
अदालतले अमेरिकी सरकारले बनाएको कानुनअनुसार नै टिकटक गैरचिनियाँको हुनुपर्ने भनेमा त्यहाँ टिकटक बन्द हुनेछ । ट्रम्पको निवेदनअनुसार अदालतले टिकटक र अमेरिकी सरकारलाई वार्ताका लागि केही समय पनि दिन सक्छ । अथवा, जो बाइडेन प्रशासनले बनाएको कानुन नै गलत ठहर गरेर टिकटक प्रतिबन्धको बाटो रोक्का गर्न सक्छ । अमेरिकाका ३० वर्षमुनिका ५९ प्रतिशत युवाले टिकटक प्रयोग गर्ने गर्छन् ।>
>>